Nepal Emblem
MAF Logo
GIZ Logo
GGGI Logo
Things To Know For

अन्य व्यवसायहरू

hero image

नेपालको सार्वजनिक विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधारमा सुधारले तपाईंको व्यवसायलाई कसरी फाइदा पुर्‍याउन सक्छ

SET4NPL परियोजना देशको सार्वजनिक चार्जिङ नेटवर्कलाई विस्तार र डिजिटल रुपान्तरण गर्न समर्पित छ। राम्रो, भरपर्दो र सजिलै पहुँचयोग्य सार्वजनिक चार्जिङ पूर्वाधार विद्युतीय सडक यातायातको मेरुदण्ड हो। साथै, सार्वजनिक चार्जरहरू स्थापना गर्नु वास्तवमै एक व्यापारिक अवसर पनि हुन सक्छ।

तपाईंको हाल भएको व्यवसायको छेवैमा सार्वजनिक चार्जिङ स्टेसन राख्दा थप ग्राहकहरू आकर्षित हुनेछन्। उदाहरणका लागि, सडक किनारका रेस्टुरेन्ट वा पसलहरूका लागि यो एउटा राम्रो अवसर हुन सक्छ, जसले चार्जिङ शुल्कबाट अतिरिक्त आम्दानी गर्ने र आफ्नो मुख्य व्यवसायका लागि पनि माग बढाउने मौका सिर्जना हुन्छ।

यही कारणले गर्दा, SET4NPL ले आफैँ मात्र पूर्वाधार निर्माण गर्नुको सट्टा वित्तीय योगदान र विशेषज्ञताका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनेछ। चार्जिङ स्टेसनहरूको प्राविधिक सुदृढता र मर्मतसम्भारको उपलब्धता सुनिश्चित गर्न SET4NPL ले सन् २०२४ मा सार्वजनिक बोलपत्र जारी गरेको थियो, जसबाट परियोजनाद्वारा समर्थित चार्जिङ स्टेसन विक्रेतालाई सुचिकृत गरिएको छ। यस बोलपत्रबाट यात्री डिजाइन स्टुडियो प्रा. लि. छनोट भएको छ।

SET4NPL ले सार्वजनिक चार्जिङ पूर्वाधारका लागि विभिन्न 'रिभर्स अक्सन' बोलपत्रहरू जारी गरेर सार्वजनिक चार्जिङ स्टेसनहरूलाई सहयोग गर्नेछ। निजी क्षेत्रका सरोकारवालाहरू र विशेष गरी व्यवसायहरूलाई उनीहरूको वित्तीय र प्राविधिक आवश्यकतासहितका प्रस्तावहरू बुझाउन आग्रह गरिएको छ। प्राविधिक रूपमा सुदृढ आवेदन र सबैभन्दा बढी वित्तीय योगदान दिने बोलपत्रकर्ताहरूलाई विजेता घोषणा गरिनेछ। यदि विजेता बोलपत्रकर्ताहरूको वित्तीय योगदान सम्बन्धित चार्जिङ स्टेसनको लागत पूर्ति गर्न पर्याप्त भएन भने, SET4NPL परियोजनाले लागतको अन्तरलाई पूर्ति गर्नेछ।

यो प्रक्रियाको उद्देश्य बोलपत्रकर्ताहरूको स्वामित्व सुनिश्चित गर्नु र सार्वजनिक चार्जिङ नेटवर्कको दिगो विस्तार गर्नु हो।

यसका साथै, SET4NPL द्वारा समर्थित सबै चार्जिङ स्टेसनहरू एउटा डिजिटल इकोसिस्टमसँग जोडिएका छन्, जसले सबै विद्युतीय सवारीसाधन प्रयोगकर्ताहरूलाई सहज पहुँच र एक निर्बाध चार्जिङ प्रक्रिया प्रदान गर्दछ। चार्जिङ स्टेसन सञ्चालकहरूका लागि, यसका डिजिटल सुविधाहरूमा सबै चार्जरहरूको सरल अनलाइन व्यवस्थापन, भुक्तानी प्रक्रिया, र मर्मतसम्भारका लागि सूचनाहरू (Notification) पनि समावेश छन्।

यदि तपाईं सहभागी हुन इच्छुक हुनुहुन्छ भने, SET4NPL को 'रिभर्स अक्सन' बोलपत्रहरू नेपालका प्रमुख समाचारपत्रहरू वा यस वेबसाइटको समाचार खण्डमा हेर्न सक्नुहुन्छ।

© 2025 SET4NPL. All rights reserved.